नेपाल सरकारले नेपाल नागरिकता ऐन, २०६३ को दफा २३ ले दिएको अधिकार प्रयोग गरी ‘नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२’ जारी गरेको छ । यो नियमावली नेपाल राजपत्रमा २०८२ साल पुस २१ गते प्रकाशित भई तुरुन्त प्रारम्भ भएको छ ।
यस संशोधित नियमावलीका मुख्य प्रावधानहरू देहाय बमोजिम रहेका छन्:
१. बाबुको पहिचान नभएको सन्तानको नागरिकता
बाबुको पहिचान हुन नसकेको व्यक्तिको नागरिकता जारी गर्दा निजको आमाले अनुसूची-४क. बमोजिमको ढाँचामा प्रमुख जिल्ला अधिकारी वा तोकिएको अधिकृतसमक्ष स्वघोषणा गर्नुपर्ने व्यवस्था गरिएको छ ।
यदि निवेदन दिँदाका बखत आमाको मृत्यु भइसकेको भए मृत्यु दर्ता प्रमाणपत्र वा होस ठेगानमा नभएको अवस्थामा चिकित्सकको सिफारिससहित निवेदक आफैँले स्वघोषणा गर्नुपर्नेछ ।
पितृत्व र मातृत्वको ठेगान नभएको व्यक्तिको नागरिकतामा बाबु र आमाको नाम उल्लेख गर्ने स्थान खाली राखिनेछ, तर संरक्षक भएमा निजको विवरण खुलाउनुपर्नेछ ।
२. अङ्गीकृत नागरिकता सम्बन्धी नयाँ व्यवस्था
- नेपाली नागरिक आमाबाट विदेशमा जन्म भई नेपालमा स्थायी बसोबास गरेको र बाबुको पहिचान नभएको व्यक्तिले अङ्गीकृत नागरिकता लिन चाहेमा अनुसूची-७ बमोजिम निवेदन दिनुपर्नेछ ।
- यस्तो नागरिकताका लागि निज र निजको आमाले विदेशी मुलुकको नागरिकता वा राहदानी नलिएको भनी अनुसूची-७क. बमोजिम स्वघोषणा गर्नुपर्नेछ ।
- जन्मको आधारमा नागरिकता प्राप्त गरेका बाबु वा आमाको सन्तानको हकमा, एक अभिभावकको मृत्यु भएको वा सम्पर्कविहीन भएको अवस्थामा अङ्गीकृत नागरिकता प्राप्त गर्न सकिने प्रावधान थपिएको छ ।
३. नाबालक परिचयपत्र (नियम १६क.)
- नाबालक परिचयपत्र प्राप्त गर्न जन्म दर्ता प्रमाणपत्र, बाबु वा आमाको नागरिकता र स्थानीय तहको सिफारिस सहित अनुसूची-१३ बमोजिम निवेदन दिनुपर्ने व्यवस्था गरिएको छ ।
- बालमन्दिर वा अनाथालयमा हुर्किएका नाबालकको हकमा संस्थाको सिफारिस र स्थानीय तहको सनाखतका आधारमा परिचयपत्र जारी गरिनेछ ।
यसरी जारी गरिएको नाबालक परिचयपत्र वाहकको उमेर १६ वर्ष नपुगेसम्म मात्र मान्य हुनेछ ।
४. राष्ट्रिय परिचयपत्रको अनिवार्य आबद्धता
नागरिकताको लागि दिइने निवेदन, व्यक्तिगत विवरण र विभिन्न अनुसूचीहरूमा अब ‘राष्ट्रिय परिचयपत्र नम्बर’ अनिवार्य रूपमा उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ ।
नागरिकता त्याग गर्ने वा पुनः कायम गर्ने प्रक्रियामा पनि राष्ट्रिय परिचयपत्रको विवरण समावेश गर्नुपर्नेछ ।
५. प्रशासनिक र अन्य व्यवस्था
- प्रमुख जिल्ला अधिकारीले नागरिकता जारी गर्ने आफ्नो अधिकार (बाबुको पहिचान नभएको र अङ्गीकृत बाहेक) मातहतका अधिकृत वा टोली प्रमुखलाई प्रत्यायोजन गर्न सक्नेछन् ।
- विदेशी मुलुकको नागरिकता नलिएको भनी गरिने स्वघोषणा र अन्य कानुनी ढाँचाहरूलाई यो नियमावलीले थप परिमार्जन गरेको छ ।
